काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरका विद्यालयलाई विद्यार्थीले अंग्रेजी भाषा नबोलेकै आधारमा दण्ड र जरिवाना नगर्न निर्देशन दिएको छ ।
सामुदायिक र संस्थागत विद्यालयहरुले विद्यार्थीलाई अंग्रेजी नबोल्ने आधारमा जरिवाना गरेको गुनासो प्राप्त भएपछि महानगरपालिकाले यो कदम उठाएको हो ।
महानगरको शिक्षा शाखा प्रमुख नेत्रनारायण पौडेलले आज एक विज्ञप्ति जारी गर्दै, कक्षाकोठा र विद्यालय परिसरमा अंग्रेजी बाहेकका विषयमा विद्यार्थीलाई दण्डित वा जरिवाना नगर्न निर्देशन दिएका छन् । साथै, यदि यस्तो कार्य भएको पाइएमा सम्बन्धित विद्यालयसँग कारबाही गर्ने चेतावनी दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “महानगरपालिका अन्तर्गतका शिक्षण केन्द्रमा अंग्रेजी बाहेकका अन्य विषयमा नेपाली भाषामा संवाद गर्दा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य तत्काल रोक्न निर्देशन दिइएको छ ।”
महानगरपालिकाले उक्त निर्देश अनुसार अवहेलनामा कारबाही गरिने जनाएको छ ।
