वीरगञ्ज महानगरपालिका–१२ स्थित सगरमाथा एकेडेमीमा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको आयोजनामा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा कक्षा ९ र १० का करिब १५० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
कार्यक्रमका प्रमुख प्रशिक्षक तथा ट्राफिक प्रहरी कार्यालय पर्साका सई मीन बहादुर साउदले विद्यार्थीहरूलाई सडक सुरक्षा, ट्राफिक नियम र जिम्मेवार नागरिकको भूमिकाबारे विस्तृत जानकारी दिए । उनले विद्यार्थीहरूलाई सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, सवारी चलाउँदा हेल्मेटको अनिवार्यता, गति सीमा पालनाका फाइदा, मोबाइल प्रयोगको जोखिम, ट्राफिक सिग्नलहरूको प्रयोग लगायतका विषयमा व्यवहारिक ज्ञानसमेत प्रदान गरेका थिए ।
उनले भने, “सडक अनुशासन जीवन रक्षा हो । नियम विपरीत सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ । त्यसैले नियम पालना गरेर मात्रै सुरक्षित यातायात सम्भव छ ।”
रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष दिपु वर्णवालले ट्राफिक सचेतना बाल्यकालदेखि नै आवश्यक रहेको उल्लेख गर्दै विद्यालयस्तरमै यस्ता कार्यक्रमको निरन्तरताले दीर्घकालीन असर पार्ने बताए । उनले भने, “सडकमा सुरक्षित बानी विकासका लागि बालबालिकामा नै चेतना जगाउनु पर्छ । रोट्रयाक्ट क्लबले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनेछ ।”
सगरमाथा एकेडेमीका प्रिन्सिपल जियालाल गुप्ताले विद्यालयले शैक्षिक मात्र नभई सामाजिक र व्यवहारिक शिक्षा पनि दिनुपर्ने आवश्यकता औंल्याउँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मअनुशासन, जिम्मेवारी र नेतृत्व विकासमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष नरोत्तम पाण्डे, सचिव आनन्द साह, कार्यक्रम संयोजक नकुल गुप्ता, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक र अन्य सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।
सहभागी विद्यार्थीहरूले कार्यक्रम अत्यन्त ज्ञानवर्धक भएको प्रतिक्रिया दिँदै यस्ता व्यवहारिक तालिमले उनीहरूलाई आगामी दिनमा सुरक्षित र जिम्मेवार नागरिक बन्न उत्प्रेरित गर्ने स्कुलका प्रधानाध्यापक जियालाल साहले बताए ।