काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा तोकेको जरिवाना तिर्न राजावादीहरूले सामाजिक सञ्जालबाट रकम संकलन गरेका छन् ।
राजावादी अभियानी तथा पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलाले सोमबार बेलुकासम्म जरिवानाको रकम संकलन भइसकेको जानकारी फेसबुकमार्फत दिएका छन् । “हार्दिक कृतज्ञता व्यक्त गर्दछु। सात लाख ९७ हजार रुपैयाँ उठेको जानकारीसहित, साथै रकम उठाउन बन्द भएको जानकारी पनि गराउँछौं,” उनले लेखेका छन् ।
गत शुक्रबार राजधानीमा राजतन्त्र पुनर्स्थापनाको माग राखी गरिएको प्रदर्शनका क्रममा फोहोर र दमकलमा क्षति पुर्याइएको भन्दै महानगरले पूर्वराजालाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो । आइतबार जरिवाना पत्र बुझाउन निर्मल निवास पुगेको महानगर प्रहरी टोलीलाई प्रवेश नदिएपछि हुलाकबाट पत्र पठाइएको थियो ।
महानगरको निर्णयपछि राजावादीले तीव्र आलोचना गर्दै बालेन शाहले पूर्वाग्रही ढंगले काम गरेको आरोप लगाएका छन् । रमेशराज बास्तोलाले बालेन कसैको उक्साहटमा लागेर राजा ज्ञानेन्द्रको नाममा जरिवाना तोकेको भन्दै विरोध जनाएका छन् ।
उनीहरूले आन्दोलनको अनुमति जसले लिएको थियो, त्यसैको नाममा जरिवाना काट्नुपर्ने माग गर्दै, त्यसपछि मात्र जरिवाना तिर्ने बताएका छन् ।