नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार वीरगञ्ज महानगरपालिका–१५ निवासी बिमल पौडेललाई नारायणी अस्पताल विकास समितिको सदस्य पदमा मनोनीत गरिएको छ ।
उनी आगामी तीन वर्षे कार्यकालका लागि उक्त पदमा रहनेछन् । स्वास्थ्य मन्त्रालयले २०८२ साल वैशाख २८ गतेको निर्णयमार्फत "नारायणी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ (संशोधित)" को दफा ३ को उपदफा (२) को खण्ड (घ) अनुसार पौडेललाई सदस्यमा नियुक्त गरेको हो ।
मन्त्रालयले जारी गरेको सूचनामा अस्पतालको समग्र व्यवस्थापन, सेवा सुधार तथा विकासका लागि पौडेलको सक्रियता र योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ । पूर्व माओवादी पृष्ठभूमिका राजनीतिक कार्यकर्ता रहिएका पौडेल हाल नेकपा एमाले निकट युवा संघ नेपालका पूर्व जिल्ला इन्चार्ज हुन् । त्यस्तै, उनी पूर्व खेलकुद महासंघका मधेस प्रदेश सह–इन्चार्ज समेत भइसकेका छन् । पछिल्ला वर्षहरूमा उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताका रूपमा समेत चिनिँदै आएका छन् ।
जनस्वास्थ्य अधिकृत तारा प्रसादद्वारा हस्ताक्षरित निर्णय पत्रमार्फत नारायणी अस्पताल र विकास समितिमा मनोनयनसम्बन्धी सूचना पठाइएको छ ।
वीरगञ्जको सामाजिक तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले पौडेलको मनोनयनलाई उपयुक्त व्यक्तिको सही स्थानमा नियुक्ति भएको टिप्पणी गर्दै स्वास्थ्य सेवामा पारदर्शिता, जनमुखीता र संस्थागत सुधारमा उनले सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।