आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवमाथि गम्भीर आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।
आईतबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष साहले खानेपानी मन्त्रालयमा भइरहेको भ्रष्टाचार, अनियमितता र मनोमानी कार्यको प्रसंग उठाउँदै मन्त्री यादवले व्यक्तिगत स्वार्थमा इन्जिनियरको सरुवा तथा अधिकार खोसेको आरोप लगाए । उनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा कार्यरत निमित्त आयोजना प्रमुख इन्जिनियर दिपेन्द्र कुमार साहको सरुवाको विषय संसदमा उठाउँदै छानबिन हुनुपर्ने माग गरे ।
सांसद साहका अनुसार, चैत १९ गते जनकपुरमा पोष्टिङ प्राप्त गरेका इन्जिनियर साहले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको तीन दिनमै मन्त्रालयका कर्मचारीको दबाबका कारण सरुवा गरिएको हो । उनले आरोप लगाए कि मन्त्री यादवका पिए तथा निकट व्यक्तिहरूले योजनामा हस्तक्षेप गर्दै ठेक्का, करार तथा उपभोक्ता समितिमा अनियमितता गर्न दबाब दिएका थिए ।
सांसद साहले भने, "एक जना राष्ट्रभक्त कर्मचारी, जसले १२ वर्ष राष्ट्रिय सतर्कता केन्द्रमा सेवा दिएका छन्, उनले संसदमा न्यायको गुहार माग्नुपर्ने स्थिति आएको छ । सरकारको सुशासनको दाबी यहीं धराशायी भएको छ ।"
इन्जिनियर साहले आजपा अध्यक्षलाई बुझाएको पत्र संसदमा वाचन गर्दै प्रभु साहले मन्त्री यादवले जनताको स्वास्थ्यसँग जोडिएको खानेपानी परियोजनामा व्यक्तिगत लाभ लिन खोजेको र त्यसको विरोध गर्दा सरुवा गरिएको दाबी गरे ।
इन्जिनियर साहको आरोप:
इन्जिनियर दिपेन्द्र साहका अनुसार मन्त्री यादवले आफ्ना नजिकका कार्यकर्ता तथा पिए एजाज बाबु राँकीमार्फत परियोजना सञ्चालनमा हस्तक्षेप गरेका थिए । उनले दिएको पत्रअनुसार काठमाडौंमै बोलाएर मन्त्रीले तीनवटा निर्देशन दिएका थिए:
- पहिल्यै नियुक्त गरिएका करार कर्मचारी हटाएर नयाँ राख्ने
- एजाज बाबुले भनेको योजना पारित गरिदिने
- ठूला ठेक्काका काम पास गरिदिने
तर इन्जिनियर साहले यस्तो निर्देशन अस्वीकार गरेपछि गैरकानुनी रूपमा हटाइएको बताए ।
उनले थप खुलासा गर्दै भने, “७० ठाउँमा ५ सय फिट गहिरो बोरिङ गर्नुपर्ने योजना थियो । एक स्थानका लागि १० लाख बजेट थियो तर त्यो ४ लाखमै सकिन सक्थ्यो । बाँकी रकम तीन चरणमा बाँडेर कम्तीमा साढे तीन करोड मन्त्री पक्षले लिने योजना थियो । भ्रष्टाचारको मुद्दा परे जेल जानु पर्नेचाहिँ कर्मचारी नै हो ।”
मन्त्री यादवको कार्यशैलीप्रति संसदमा आलोचना
सांसद प्रभु साहले खानेपानी मन्त्रालयमाथि गम्भीर प्रश्न उठाउँदै भने, "के यो सरकारको सुशासन हो ? मन्त्रीले परियोजनामा राजनीतिक हस्तक्षेप गर्नु कति जायज हो ? संसदले यस विषयमा गम्भीरता देखाउँदै तत्काल संसदीय छानबिन समिति गठन गर्नु आवश्यक छ ।"
उनले संघीय कर्मचारीको मनोबल गिराउने गरी गरिएको कारबाहीले जनतामा निराशा फैलाउने भन्दै दोषी उपर कारबाहीको माग समेत गरे ।
सरकारले सुशासनको कुरा गर्दा गर्दै मन्त्रीस्तरीय हस्तक्षेप, भ्रष्टाचार र अनियमितताको उजुरी संसदसम्म आइपुगेको छ । इन्जिनियर साहको आरोप निकै गम्भीर र तथ्यमा आधारित देखिन्छ, जसले खानेपानी मन्त्रालयभित्र गम्भीर प्रणालीगत समस्या रहेको संकेत गर्छ । अब संसद र सरकारको जिम्मेवारी छ – सत्यतथ्य छानबिन गर्दै दोषीलाई कारबाही गर्ने ।
यस्ताे थियाे घटना....
खानेपानी मन्त्रालयमा एजाजबाबु मार्फत योजना, मन्त्रीलाई करोडौँ कमिसन चेपुवामा हाकिम (भिडियाे रिपाेर्ट)
थप समाचार ...
पानी बिनाको खानेपानी ट्याङ्की उद्घाटन, उद्घाटनमा व्यस्त खानेपानी मन्त्री, पानी बिना काकाकुल स्थानीय (भिडियाे सहित)