संसदीय समितिले समन्वयकारी भूमिका निर्वाह गर्दै आगामी मनसुनमा हुन सक्ने विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि संघ, प्रदेश र स्थानीय तीन तहका सरकारलाई तयारी गर्न निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले मनसुनजन्य विपद्, आगलागी, भूकम्प लगायतका सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी गर्न आग्रह गरेको हो ।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाले समितिको तर्फबाट निर्देशन दिँदै, “संभावित विपद्को जोखिम न्यूनीकरण, प्रतिकार्य तथा पुनःस्थापनाको कामका लागि तहगत सरकारबीच समन्वय कायम गरी सामाजिक परिचालनमार्फत विपद् व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ,” भने ।
बैठकले आगामी दिनमा हुने विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि अन्तरमन्त्रालय समन्वय र सहकार्यलाई अझ बलियो बनाउँदै जानुपर्ने निष्कर्ष निकालेको छ ।