नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले आफ्नो पार्टी सत्ता-केन्द्रित अंकगणितको खेलमा नरहेको र प्रत्यक्ष जनादेशका लागि २०८४ सालको आमनिर्वाचनको पर्खाइमा रहेको बताएका छन् ।
शुक्रबार पाल्पाको रम्भा र पूर्वखोला गाउँपालिकामा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त भेलालाई सम्बोधन गर्दै पुनले अहिलेको राजनीतिक समीकरण र सत्ता समीकरणमा माओवादी केन्द्र लाग्ने पक्षमा नरहेको स्पष्ट पारे ।
"गल्ती सुधार गर्दै जनतातिर फर्कन्छौं" “हामी सत्ताको गणीतय खेलमा छैनौं, ०८४ पर्खेर बस्छौं,” उपमहासचिव पुनले भने, “सरकारमा हुँदा गरेका कामबारे जनतालाई बुझाउँछौं। गर्न नसकेका वा गल्ती भएका विषयमा क्षमा माग्छौं। ती सुधार गर्दै फेरि जनताको सेवा गर्न चाहन्छौं ।”
उनले विगतमा माओवादी नेतृत्वमा भएका कामहरूको मूल्यांकन जनताले नै गर्ने बताए। साथै, आफ्नो पार्टी अब सशक्त रूपमा आगामी चुनावमा जनादेश लिन प्रतिबद्ध रहेको धारणा राखे ।