नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाल कांग्रेस पार्टीभित्र सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू अत्यन्तै कम भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
सभापति देउवाले स्व. रेग्मीलाई कुनै लोभ, लालच नभएको सच्चा राष्ट्रसेवक र पार्टीप्रति समर्पित व्यक्तिको रूपमा स्मरण गरे। “उहाँले हृदयदेखि नै कांग्रेस पार्टीको लागि काम गर्नुभयो। स्वार्थभन्दा माथि उठेर पार्टी निर्माणमा योगदान गर्नुभएको थियो,” देउवाले भने ।
उनले स्व. रेग्मीको जीवन र योगदानबारे लेखहरू लेखेर आम जनसमुदायमा उहाँको विचार र छविबारे उजागर गर्नु आवश्यक रहेको पनि बताए ।