शिक्षामन्त्री रघुजी पन्तले प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार बसेको बैठकमा विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन एक साताको समय मागेका छन् ।
मन्त्री पन्तले शिक्षकहरूसँग गरेको सहमतिको आधारमा विधेयक अघि बढाउन अझै छलफलमा रहेको बताए । मन्त्री पन्तले सरकारले शिक्षकहरूसँग गरेको ९ बुँदे सहमति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको र शिक्षक महासंघले ९ बुँदे सहमति भन्दा अघि भएका सहमतिलाई पनि छलफलमा लैजान जोड दिइरहेको जानकारी दिएका छन् ।
बैठकका समितिका सभापति अम्मरबहादुर थापाले आगामी बैठकमा सरकारको स्पष्ट धारणा प्रस्तुत गर्न निर्देशन दिँदै शिक्षकहरूको माग सुनेन भने संसदीय समिति विरुद्ध आन्दोलन हुने सम्भावना रहेको बताए। उनले विधेयक अघि बढाउन ढिलाइ नगर्न र आन्दोलन उत्पन्न नहुने खालको वातावरण सिर्जना गर्न आग्रह पनि गरे ।
यस्तै, समितिले जेठ १६ र १७ गते मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत भ्रमण गर्ने निर्णय गरेको छ ।