काठमाडौँ, जेठ १५
गणतन्त्र दिवस २०८२ को अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका साथ विविध कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा नेपाली मौलिकता झल्कने सांस्कृतिक प्रस्तुतिहरू, सैनिक सम्मान, हेलिकप्टरबाट पुष्पवृष्टि लगायतका आकर्षक दृश्यहरू प्रस्तुत गरिएका थिए, जसले समारोहलाई उत्सवमय बनाएको थियो ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहनुहुँदै नेपाली सेनाको एक टुकुडीले अर्पण गरेको सलामी ग्रहण गर्नुभएको थियो । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गर्दै गणतन्त्र स्थापनापछि देशले प्राप्त गरेका उपलब्धिहरूको चर्चा गर्नुभयो । उहाँले लोकतान्त्रिक अभ्यास सुदृढ गर्दै समावेशी र समृद्ध नेपाल निर्माणतर्फ सरकारले अग्रसरता लिएको धारणा राख्नुभयो ।
नेपाली सेनाको हेलिकप्टरबाट गरिएको पुष्पवृष्टिले समारोहलाई विशेष आकर्षण दिएको थियो। समारोहमा विभिन्न जातजाति, संस्कृति र भेषभूषालाई समेटेर कलाकारहरूले प्रस्तुत गरेका नृत्यहरूले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।
गणतन्त्र दिवस नेपालको ऐतिहासिक उपलब्धिको प्रतीक हो, जुन प्रत्येक वर्ष जेठ १५ गते भव्य रूपमा मनाइन्छ । यस अवसरमा देशभर विविध कार्यक्रमहरूको आयोजना गरिन्छ, जसले लोकतन्त्रप्रति श्रद्धा, राष्ट्रिय एकता र स्वतन्त्रताको सन्देश प्रवाह गर्छ ।