गर्मीयाममा मासु खपत घटेपछि कुखुराको मासुको मूल्य फेरि घटाइएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज (१९ जेठ) देखि लागु हुने गरी जिउँदो कुखुरा र तयारी मासुको मूल्यमा क्रमशः १० र १५ रुपैयाँको कटौती गरिएको हो ।
संघका अध्यक्ष जंगबहादुर बिसीका अनुसार जिउँदो कुखुराको प्रतिकिलो मूल्य १० रुपैयाँ घटेर २४० रुपैयाँमा कायम गरिएको छ। यसअघि उक्त मूल्य २५० रुपैयाँ थियो ।
यस्तै, तयारी कुखुरा मासुको मूल्य १५ रुपैयाँ घटाएर प्रतिकिलो ३३५ रुपैयाँ तोकिएको छ । केही दिनअघि मात्रै पनि कुखुराको मासुमा १० देखि १५ रुपैयाँसम्मको गिरावट आएको थियो ।
अध्यक्ष बिसीका अनुसार गर्मीमा मासुको खपत घट्ने परिप्रेक्ष्यमा मूल्य समायोजन गरिएको हो । “अहिले माग कम छ, गर्मीमा मागभन्दा बढी उत्पादन भएका कारण मूल्य घटेको हो,” उनले भने ।