राजविराज भन्सार कार्यालयमा मिलेमतोमा सवारी साधन लिलाम गरिएको आरोप लागिरहेको बेला भन्सार प्रमुख सत्यनारायण सिंहले मोटरसाइकल ट्रलीमा लुकाएर लैजाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भाइरल भिडियोमा भन्सार प्रमुख सिंहले प्रयोग गर्दै आएको बा २ झ १३४३ नम्बरको गाडीको ट्रलीमा नम्बर नभएको ‘हिरो ग्ल्यामर’ मोटरसाइकल र अन्य पोको पारिएका सामग्री लोड गरिएको देखिन्छ । भिडियोको पहिलो क्लिपमा भन्सार कार्यालयको परिसरमा ट्रलीमा मोटरसाइकल र सामान राख्दै गरेका केही व्यक्ति देखिन्छन् भने दोस्रो क्लिपमा ती सामग्री त्रिपालले छोपेर लुकाइएको अवस्थामा गाडी राजविराज हुँदै पश्चिमतर्फ गइरहेको देखिन्छ ।
शुक्रबार दिउँसो करिब ३ बजेतिर उक्त गाडी राजविराज हुँदै धनुषातर्फ गएको पुष्टि भएको छ। त्यस समयमा भन्सार प्रमुख सिंह आफैं घरतर्फ गइरहेका थिए । उनले मोटरसाइकल मर्मतका लागि बर्दिबास लाँदै गरेको दाबी गरेका छन् तर ग्यारेजको नाम र मोटरसाइकलको नम्बर भने याद नभएको बताएका छन् । “भिडियो अनाहकमा भाइरल बनाइयो,” भनी प्रतिक्रिया दिए पनि भन्सार कार्यालयमा त्यस्तो मोटरसाइकल रहेकोबारे स्पष्ट जानकारी दिन चाहेनन् ।
यसैबीच, जेठ ९ गते भएको दोस्रो चरणको सवारी लिलामी प्रक्रियामा पनि मिलेमतो भएको आरोप छ । स्रोतका अनुसार, २० वटा मोटरसाइकलमध्ये १३ वटामा मोरङको विराटनगर–१५ का अभिषेक चौधरीको बोलपत्र स्वीकृत भएको थियो, जसमा सबै मोटरसाइकल न्यूनतम मूल्यभन्दा एक/एक सय रुपैयाँ मात्र बढीमा स्वीकृत भएका थिए ।
यसअघि पहिलो चरणको लिलामीमा ५४ वटा मोटरसाइकल, ५ वटा ट्र्याक्टर, ६ वटा अटो र १२८ वटा स्क्र्याप सवारी साधनहरू लिलामीमा परेको बताइएको छ । ती सवारी साधनहरू मिलेमतोमा लिलाम गरिएको दाबी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले सामाजिक सञ्जालमा भिडियो देखिएपछि भन्सार प्रमुखसँग सोधपुछ गरिएको जनाए । “भन्सार प्रमुखले मर्मतका लागि मोटरसाइकल लैजाँदै गरेको बताए, तर अहिले थप बुझ्ने कार्य भइरहेको छ,” प्रजिअ दाहालले भने, “गलत काम प्रमाणित भए कारबाही हुन्छ ।