राजतन्त्रको समर्थनमा बढ्दो गतिविधिप्रति प्रतिक्रिया जनाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी स्वरूप टिप्पणी गरेका छन् ।
उनले विगतमा राजतन्त्रले जनतालाई दिएको पीडा जनतालाई पुनः स्मरण गराउनुपर्ने बेला आएको बताएका छन् । सभापति देउवाले भने, "ज्ञानेन्द्र शाह यो देशमा बस्न पाउनु नै राजनीतिक दलहरूले देखाएको सदाशयता हो भन्ने कुरा बुझ्नुपर्ने समय आएको छ ।" उनले गणतन्त्र प्राप्तिका लागि गरिएको संघर्षलाई अवमूल्यन गर्न खोज्ने कुनै पनि प्रयास लोकतन्त्रप्रति अपमान हुने बताएका छन् ।