पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमसहित चार जनालाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरुमाथि छलफल गर्न नेपाल न्यायपरिषद्को आकस्मिक बैठक बस्दै छ। कानुनमन्त्री अजय चौरासियाले उक्त बैठकको पुष्टि गरेका छन् ।
न्यायपरिषद्का स्रोत अनुसार केही न्यायाधीश नियुक्तिको सिफारिस र आफताब आलमको मुद्दामा फैसला दिने न्यायाधीशहरुमाथि पनि छलफल गर्ने एजेन्डा रहेको छ । यसअघि उच्च अदालतका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन हुनुपर्ने मागसहित न्यायपरिषद्मा उजुरी परेको थियो। परिषद्ले यसबारे आन्तरिक रुपमा अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले बुधबार रौतहटमा भएको बम विस्फोट मुद्दामा कांग्रेस नेता आफताब आलमलाई जिल्ला अदालत रौतहटका फैसला उल्टाएर रिहा गर्ने आदेश दिएको थियो । जिल्ला अदालतले २०८१ साल वैशाखमा आफताब आलमसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको थियो । जसमा आलमका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी पनि परेका थि ।
उच्च अदालतको उक्त फैसला जारी भएपछि ललितपुरस्थित नख्खु कारागारमा थुनामा रहेका आलमलाई बुधबार साँझ रिहा गरिएको थियो । जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्ने आदेशलाई उल्ट्याउँदै उच्च अदालतले सफाइ दिएको थियो ।
यस घटनाले न्यायिक निर्णयप्रति चासो बढाएको छ भने यसबारे छलफल गर्न न्यायपरिषद्को आकस्मिक बैठक आह्वान गरिएको छ ।