पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि प्रसाद सापकोटाविरुद्धको अपहरण र ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उत्प्रेषणयुक्त आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच न्यायाधीश रहेको संवैधानिक इजलासले अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाको रिटमा आज फैसलासहित आदेश सुनायो । यो आदेशसँगै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले २०६९ साउन १२ गते ‘मुद्दा नचलाउने’ भनी गरेको निर्णय स्वतः बदर भएको छ । अब काभ्रेको दाप्चामा २०६२ वैशाख १६ गते भएको अर्जुन लामा अपहरण तथा हत्या प्रकरणमा सापकोटासहित संलग्न भनिएका माओवादी नेतामाथि प्रहरीले फौजदारी अनुसन्धान अघि बढाउनुपर्नेछ ।
पूर्णिमाया लामाले पतिका हत्यामा अग्नि सापकोटालगायत सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम र नोर्बु मोक्तान समेतको संलग्नता दाबी गर्दै २०७५ मा सर्वोच्चमा रिट दायर गरेकी थिइन् । संवैधानिक इजलासले यही रिटको सुनुवाइ टुंग्याउँदै आज उत्प्रेषण आदेश दिएको हो, जसले द्वन्द्वकालीन गम्भीर मानवअधिकार उल्लङ्घनका मुद्दा सामान्य अपराधका रुपमा अगाडि बढाउने बाटो खुलाएको कानुनी विज्ञहरूको भनाइ छ ।