अमेरिकाबाट डिपोर्ट गरिएका ३७ जना नेपाली आइतबार मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत बोरा बोकेर नेपाल फर्किएका छन् । उनीहरूमध्ये केही रित्तो हातमै देखिएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता तथा वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेका अनुसार डिपोर्ट गरिएकामध्ये ३२ पुरुष र ५ महिला छन् । अमेरिकी अध्यागमन ऐन उल्लंघन गरेको अभियोगमा उनीहरूलाई अमेरिकाबाट चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइएको हो ।
न्यौपानेले भने, “हाम्रो इमिग्रेशनमा आउँदा उनीहरू सामान्य अवस्थामा थिए। विमानमा यात्रा गर्दा हत्कडी लगाइएको थियो वा थिएन भन्ने पुष्टि हुन सकेको छैन ।”
डिपोर्ट गरिएका नेपालीहरू साँझ करिब ९ बजे काठमाडौं अवतरण गरेकामा मध्यराततिर विमानस्थलबाट बाहिरिएका थिए ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा आएपछि आप्रवासी नीति झन कडा बनाइएको छ । भिसा प्रक्रिया पुरा नगर्ने, भिसा अवधि नाघेर बस्ने वा अनुशासन उल्लंघन गर्ने विदेशी नागरिकलाई अमेरिका सरकारले पक्राउ गरी डिपोर्ट गर्दै आएको छ । कतिपय अवस्थामा उनीहरूलाई हत्कडी र नेल लगाएर फर्काउने पनि गरिएको छ ।
सन् २०२५ को जनवरी २० देखि मे महिनासम्म अमेरिकाबाट १४० जना नेपालीलाई डिपोर्ट गरिएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ ।
डिपोर्ट गरिएका अधिकांश नेपालीहरूले अवैध रूपमा अमेरिका पुग्न दलाललाई ठूलो रकम बुझाएको पाइएको छ । अध्यागमन स्रोतका अनुसार यस्ता नेपालीहरू मेक्सिको र अन्य देश हुँदै अवैध बाटोबाट अमेरिका प्रवेश गर्ने प्रयासमा थिए ।