काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न १९ जना प्रतिवादीलाई अदालतमा उपस्थित हुन ताकेता गर्दै सूचना प्रकाशित गरेको छ । गोरखापत्रमा सोमबार प्रकाशित सूचनामार्फत अदालतले उनीहरूलाई ३५ दिनभित्र उपस्थित हुन आदेश दिएको हो ।
अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार यी प्रतिवादीहरूविरुद्ध पहिल्यै पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म सुनुवाइ प्रक्रियामा उपस्थित नभएको भन्दै सूचना प्रकाशित गरिएको हो ।
सूचनामा ६ जना चिनियाँ, ४ जना भारतीय र ९ जना नेपाली नागरिकको नाम समेटिएको छ ।
चिनियाँ नागरिकहरूमा लुरोङ गोङ्बु, वाङ दाओजिङ, पेङ योङसिन, झोङ जियानहुवा, ‘हेनेरी’ भनिने झोङ जिङचुआन र पिङ लिङफेङ छन् ।
फरार भारतीय नागरिकहरूमा भिजित तानाजी मुलिक, अगोल कलप्पा कुटे, टासी शेर्पा र कमलकान्त कुल्थिया रहेका छन् ।
त्यस्तै, नेपाली नागरिकहरूमा बर्दियाका जीवन चलाउने, दोलखाका दिलिप भुजेल र कुमार भुजेल, उदयपुरका भीमबहादुर मगर, सिन्धुपाल्चोकका राम गुरूङ, झापाका लेखनाथ कार्की डोली, काभ्रेका पाल्साङ लामा, दोलखाकै विकेन्द्र भुजेल, र पर्वतका जीवनकुमार गुरूङ रहेका छन् ।
सूचना अधिकारी श्रेष्ठका अनुसार तोकिएको समयमा पनि प्रतिवादीहरू अदालतमा उपस्थित नभएमा अदालतले उनीहरूको अनुपस्थितिमै फैसलाको प्रक्रिया अघि बढाउनेछ ।
यस प्रकरणमा प्रमुख अभियुक्त जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलबाट डिफ्युजन नोटिससमेत जारी भइसकेको छ। उनले सुन तस्करी प्रकरणमा संलग्नता नकारे पनि आयोगको प्रतिवेदनमा भने उनको सीआईबीमा चार घण्टा भिडियो बयान भएको उल्लेख गरिएको छ ।
सुन तस्करीमा संलग्न जीवन चलाउनेसँगका संवादहरू ‘सिधाकुरा’ कार्यक्रममार्फत सार्वजनिक भइसकेका छन् । सीआईबीले चलाउनेलाई बोलाएर फरार बनाएको उल्लेख सहित त्यसबेला सीआईबी प्रमुख किरण बज्राचार्यसहित चार जनाविरुद्ध विभागीय कारबाहीसमेत भएको थियो ।