बाराको कलैया उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण नगरपालिका अन्तर्गतका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
पछिल्ला केही दिनयता बढ्दो तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेपछि स्थानीय तहले आकस्मिक रूपमा विद्यालय बन्द गर्ने निर्णय लिएको हो । मंगलबार विभिन्न विद्यालयमा विद्यार्थीहरू एक्कासि बेहोस हुन थालेपछि नगर शिक्षा समितिको बैठक बसेको थियो। बैठकले जेठ २८ गतेदेखि ३० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख राजिव कुमार यादवद्वारा जारी गरिएको सूचनामा भनिएको छ, “विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी तत्काल तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।”
नगरपालिकाका अनुसार उक्त बिदा वार्षिक बिदाबाट समायोजन गरिनेछ। विद्यालयहरू आगामी असार १ गते आइतबारदेखि पुनः सञ्चालन हुने जनाइएको छ । गर्मीको तीव्रता बढ्दै गएसँगै विद्यालय तहका बालबालिकामा चक्कर आउने, रिंगटा लाग्ने, बेहोस हुनेजस्ता लक्षण देखिन थालेका छन् ।
स्वास्थ्य जोखिम बढ्दै गएपछि स्थानीय तहको यो निर्णयलाई अभिभावकहरूले स्वागत गरेका छन् ।