सिरहाको लहानस्थित पूर्व–पश्चिम राजमार्गको किनारमा स्थानीय कृषकहरूले उत्पादन गरेका आँप बिक्री गर्न थालेका छन् ।
अहिले बजारमा मालदह जातको आँप प्रतिकिलो ५० रुपैयाँको दरमा बिक्री भइरहेको स्थानीय व्यापारीहरूले बताएका छन् । पूर्व–पश्चिम राजमार्गको लहान खण्ड आसपासका क्षेत्रका कृषकहरूले खेत तथा बगैंचामा फलाएका आँप सिधै सडक किनारमा ल्याई बिक्री गरिरहेका छन् । ताजा, स्वदेशी उत्पादन भएकाले ग्राहकको आकर्षण पनि उच्च रहेको व्यापारीहरूको भनाइ छ ।
स्थानीय कृषकले मध्यश्रावणसम्म आँप बिक्री हुने अपेक्षा गरेका छन् । उनीहरूका अनुसार अहिले आँपको उत्पादन राम्रै भएको छ र माग पनि सन्तोषजनक देखिएको छ ।
सस्तो मूल्यमा ताजा फलफूल
राजमार्ग छेउमै सस्तो दरमा उपलब्ध ताजा फलफूल पाइने भएकाले लामो दूरीमा गइरहेका यात्रुहरू तथा स्थानीय उपभोक्ताले त्यहींबाट आँप किन्ने गरेका छन् । स्थानीय व्यापारी शिवलाल यादव भन्छन्, “सिधै किसानबाट ल्याइएकाले मूल्य कम छ, उपभोक्तालाई पनि सहज भएको छ ।”