सशस्त्र प्रहरी बल, नेपाल पर्सा इकाइले भन्सार छली गरेर ल्याइएका करिब १३ लाख ७१ हजार रुपैयाँ बराबरका सामानहरू बरामद गरेको छ ।
विभिन्न स्थानबाट बरामद गरिएका यी सामानहरूमा कपडा, किराना, मसला र मोटरसाइकलसमेत रहेका छन् । सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१० स्थित बजरङ्गको सुधा कुञ्ज भन्ने स्थानमा धीरज रौनियारले भारतबाट चोरीपैठारी गरी ल्याई गोदाममा भण्डारण गरेको ७ लाख ७० हजार ५ सय रुपैयाँ मूल्य बराबरका कपडा बरामद गरेको हो ।
त्यस्तै, बिआर ०५ यु ४५३० नम्बरको भारतीय सुपर स्प्लेन्डर मोटरसाइकल, जसको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ बराबर रहेको, समेत बरामद गरिएको छ । यी सामानहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्रले वीरगञ्ज महानगरपालिका–१० र १६ का विभिन्न सीमानाकाबाट भन्सार छली ल्याइएका २ लाख ४८ हजार १०१ रुपैयाँ बराबरका कपडा र मसला पनि बरामद गरेको छ ।
यस्तै, मंगलबार बिन्दवासिनी गाउँपालिका–प्रसौनी क्षेत्रबाट भारततर्फबाट भन्सार छली ल्याउँदै गरेको बिआर २२ यु १४३२ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिई त्यसमा राखिएको २३ हजार ३८० रुपैयाँ बराबरको किराना सामान समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्र हुँदै हुने चोरीपैठारी र भन्सार छल नियन्त्रण गर्नका लागि निगरानी र सुराकी प्रणाली कडा बनाएको जनाएको छ ।