आगलागीका घटनाहरू बढ्न थालेपछि पर्सा जिल्लामा सम्भावित विपद्जन्य आगलागी नियन्त्रण र न्यूनीकरणका लागि विशेष अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सा र मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म जनकपुर (हाल वीरगंजस्थित) को संयुक्त आयोजनामा 'फायर एक्स्टिङ्गुइशर प्रयोग विधि सम्बन्धी प्रदर्शन तथा अभ्यास' कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सशस्त्र प्रहरी बलको सि.प्र.अ. (सशस्त्र प्रहरी गण) का ५५ जना, मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म जनकपुर (हाल वीरगंज) का जु.प्र.अ. (ज्येष्ठ प्रहरी अधिकृत) अन्तर्गत २५ जना, साथै स्थानीय समुदायबाट १५ जना गरी कुल ९५ जनाको सहभागिता रहेको थियो ।

अभ्यासको क्रममा आगलागीको प्रारम्भिक नियन्त्रणमा प्रयोग हुने फायर एक्स्टिङ्गुइशरको प्रयोग विधि, सावधानीका उपाय, आपतकालीन प्रतिक्रिया र समन्वयात्मक कार्यशैली प्रस्तुत गरिएको थियो । प्रशिक्षणले आपतकालीन अवस्थामा सुरक्षाकर्मी र स्थानीयवासी कसरी तत्काल प्रतिक्रिया जनाउन सक्छन् भन्ने विषयमा व्यवहारिक ज्ञान प्रदान गरेको छ ।

कार्यक्रमको नेतृत्व सशस्त्र प्रहरीको सि.प्र.अ. कमाण्डले गरेका थिए भने विपद् व्यवस्थापन सम्बन्धी प्राविधिक टोलीले अभ्यास परिचालन गरेको थियो ।
स्थानीय स्तरमा विपद् न्यूनीकरणका लागि गरिएको यस अभ्यासले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्यलाई थप सशक्त बनाएको आयोजकले जनाएकाे छ ।
