भारतको उत्तराखण्ड प्रदेश अन्तर्गत रुद्रप्रयाग जिल्लामा भएको एक हेलिकप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।
केदारनाथ मन्दिरको दर्शन गरेर फर्किंदै गरेका यात्रु सवार हेलिकप्टर दुर्घटनामा परेपछि उक्त जनधनको क्षति भएको भारतीय मिडिया दैनिक भास्करले जनाएको छ । दुर्घटनामा हेलिकप्टरका पाइलटसहित एक बालकसहित सात जनाको मृत्यु भएको पुष्टि गरिएको छ । आर्यन एभिएसन कम्पनीको उक्त हेलिकप्टर केदारनाथबाट गौरीकुण्डतर्फ जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।
उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार घटनास्थलमा तत्काल खोज तथा उद्धार टोली खटाइएको छ । प्रारम्भिक जानकारी अनुसार खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ ।
उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा सवार यात्रुहरू उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरात राज्यका थिए ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ भने अनुसन्धान कार्य पनि अघि बढाइएको जनाइएको छ ।