देशभर मनसुन सक्रिय भएसँगै विभिन्न भागमा पानी पर्ने क्रम तीव्र बनेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, कमला र खान्दो खोलाको जलस्तर सतर्कता तह पार गरिसकेको छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहानको वर्षापछि धनकुटाको कोशी, सिन्धुलीको कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गरेको जनाएको छ । ती क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सप्तरीको रुपनी बजार क्षेत्रमा पनि मध्यमदेखि ठूलो वर्षा भएको जनाइएको छ । खान्दो खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरिएको छ ।
महाशाखाका अनुसार आज धनकुटा, भोजपुर, उदयपुर, सिन्धुली, सप्तरी, खोटाङ, काभ्रेपलाञ्चोक, लमजुङ, कास्की, पर्वत, बागलुङ, कैलाली र कञ्चनपुरसहित काठमाण्डौ उपत्यकाको ललितपुर र भक्तपुरमा पनि बाढीको मध्यम जोखिम रहेको छ ।
जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन हाल मध्य र पश्चिमी क्षेत्रसम्म फैलिएको छ । कोशीसहित मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मनसुनी वायुको प्रभाव देखिएको छ ।
देशको पश्चिमी भागमा भने पश्चिमी वायु र स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो दुई–तीन दिनयता वर्षाको दर बढ्दै गएको र विशेषगरी मनसुन सक्रिय रहेका क्षेत्रमा निरन्तरजसो पानी परिरहेको छ ।