सडक पार गर्नका लागि पैदल यात्रुका लागि बनाइएको जेब्रा क्रसिङको प्रयोग सुरक्षित र प्राथमिकताको विषय हुनुपर्ने हो ।
तर राजधानीका मुख्य सडकहरुमा जेब्रा क्रसिङको प्रयोग झनै जोखिमपूर्ण बन्दै गएको देखिन्छ । ट्राफिक नियमअनुसार जेब्रा क्रसिङमा पैदल यात्रुलाई सवारीभन्दा प्राथमिकता दिनुपर्ने हुन्छ । तर व्यस्त सडकमा जेब्रा क्रसिङमै सवारी रोकिने, पैदल यात्रु डराउँदै सडक पार गर्ने दृश्य सामान्य भइसकेको छ ।
"जेब्रा क्रसिङमा त ढुक्क भएर बाटो काट्न पाउनु पर्ने हो नि, तर यहाँ त हात दिएर रोक्न आग्रह गर्दा पनि गाडी अडिँदैन," माइतीघरको जेब्रा क्रसिङमा बाटो काट्दै गरेका एक पैदल यात्रुले गुनासो गरे ।
उनको भनाइमा जेब्रा क्रसिङको बेवास्ता गर्नेमा सार्वजनिक गाडी र मोटरसाइकल बढी छन् ।
जेब्रा क्रसिङमा सार्वजनिक बस रोकेर यात्रु चढाउने दृश्य राजधानीका धेरै स्थानमा देख्न सकिन्छ । ट्राफिक प्रहरी नजिकै भए पनि कारबाहीको सट्टा निरीह बनेर हेरिरहेको पाइन्छ ।
जेब्रा क्रसिङको चिन्ह बनाइए पनि त्यो यात्रुका लागि सुरक्षित जोन बन्न सकेको छैन ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ (संशोधन २०७५) को दफा १३२ अनुसार जेब्रा क्रसिङमा पैदल यात्रु देखिएमा सवारीसाधनले रोकिनु पर्छ ।
तर व्यवहारमा त्यो लागू भएको पाउन गाह्रो छ । अधिकांश चालकले ना त यात्रुलाई प्राथमिकता दिन्छन्, न ट्राफिक नियम पालना गर्छन् ।
त्यसमाथि जेब्रा क्रसिङ नजिकै गाडी रोक्न नहुने, मोटरसाइकल पार्क गर्न नपाइने, ट्राफिकको संकेत मान्नुपर्ने जस्ता सूचनाहरु सडकछेउ टाँसिए पनि नियम पालना गराउने संयन्त्र कमजोर देखिन्छ ।
सडक सुरक्षित बनाउन ट्राफिक नियमको पालना अनिवार्य छ। ट्राफिक प्रहरीको सक्रियता, सवारी चालकको अनुशासन र यात्रुको सचेतना अभावका कारण जेब्रा क्रसिङ झनै जोखिमपूर्ण बन्दै गएको विज्ञहरू बताउँछन् ।
अबको आवश्यकता भनेको कडाइका साथ नियम कार्यान्वयन गर्नु हो, न कि टुलुटुलु हेर्नु ।