बाराको करैयामाई गाउँपालिकाले बुधबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। शिक्षा, संस्कृति, युवा तथा खेलकुद, स्वास्थ्य, पूर्वाधार, कृषि र सामाजिक सुरक्षा जस्ता क्षेत्रहरूलाई विशेष प्राथमिकता दिँदै बजेट प्रस्तुत गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवले १७औं गाउँसभा मार्फत ४३ करोड ७२ लाख ९८ हजार ९ सय २२ रुपैयाँ बराबरको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
यस वर्षको बजेट ‘सुशासनयुक्त सक्षम एवं सबल स्थानीय सरकार, पूर्वाधार निर्माण, कृषि, पर्यटन र सशक्तिकरण करैयामाईको आधार’ भन्ने नारासहित सार्वजनिक गरिएको हो ।
उक्त बजेटअनुसार गाउँपालिकाको कुल अनुमानित आम्दानीमा संघीय सरकारबाट समानिकरण अनुदान शीर्षकमा ९ करोड ७४ लाख, सशर्त चालु अनुदानमा १५ करोड ९८ लाख, सशर्त पूँजीगत अनुदानमा ७३ लाख, विशेष पूँजीगत अनुदानमा ७८ लाख, र समपूरक अनुदानमा २ करोड ८८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश सरकारबाट समानिकरण अनुदान शीर्षकमा ६७ लाख ९२ हजार, सशर्त अनुदानमा ८० लाख, विशेष अनुदानमा ३० लाख, समपूरक अनुदानमा २० लाख र सवारी साधन राजस्व बाँडफाँड शीर्षकमा ४८ लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ ।
गाउँपालिकाको आफ्नै आन्तरिक स्रोतबाट ६५ लाख ९५ हजार ३ सय रुपैयाँ र मालपोत रोयल्टीबाट ३० लाख रुपैयाँ बराबरको राजस्व संकलन गरिने योजना छ ।
गाउँसभा कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनैना कुमारी चौधरी, वडा अध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू लगायत सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको स्वागत प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र महतोले गरेका थिए भने सञ्चालन नासु बिरेन्द्र बहादुर वाईवाले गरेका थिए ।