इजरायल र इरानबीचको संघर्ष दसौं दिनमा प्रवेश गर्दै जटिल बन्दै गएको छ ।
आइतबार राति इजरायली वायु सेनाले इरानको शाहरुदस्थित ब्यालेस्टिक मिसाइल इन्जिन उत्पादन गर्ने एक प्रमुख उद्योगमा हवाई आक्रमण गरेको छ । इजरायलको यो आक्रमण करिब २ हजार किलोमिटर टाढाको क्षेत्रमा केन्द्रित थियो। उक्त बमबारीमा इन्जिन उत्पादन गर्ने मेसिनहरू र अन्य सामग्रीहरू पूर्ण रूपमा नष्ट भएको बताइएको छ । साथै, इजरायली वायु सेनाले तेहरान, केरमान्शाह र हमादानमा पनि छुट्टाछुट्टै हवाई आक्रमण गरेको छ ।
त्यसैगरी, अमेरिकाले पनि युद्धमा सक्रियता देखाएको छ । आइतबार अमेरिकी वायु सेनाले इरानका तीनवटा परमाणु केन्द्रहरू — फोर्दो, नतान्ज र इस्फहानमा हवाई आक्रमण गरेको छ । अमेरिकाको यो अपरेशनमा ७ वटा बी–२ स्टेल्थ बम्बर्स प्रयोग गरिएको थियो ।
यता, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तनको सम्भावनाबारे टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, "यदि इरानमा हालको सरकार इरानलाई फेरि महान बनाउन सक्दैन भने सत्ता परिवर्तन किन नहुनु? मेक इरान ग्रेट अगेन ।"
इरानले पनि जवाफी कारबाहीस्वरूप इजरायलमाथि आक्रमण गरेको जनाएको छ । इरानी मिसाइल आक्रमणमा इजरायलको नेस जियोना क्षेत्रमा केही संरचनामा क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
मध्यपूर्वमा चुलिँदो यो सैन्य तनावले क्षेत्रीय मात्र होइन, वैश्विक सुरक्षामा समेत असर गर्ने संकेत देखिएको विश्लेषकहरूले बताएका छन् ।