सप्तरी जिल्लाको खडक नगरपालिकास्थित कल्याणपुर बजारमा रहेको एडभान्स अस्पतालभित्र एक दलित महिलामाथि बलात्कार प्रयास भएको गम्भीर घटना सार्वजनिक भएको छ ।
घटनामा संलग्न रहेको आरोपमा अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट श्याम कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ । खडक नगरपालिका–८ बिसनपुरकी २१ वर्षीया दलित महिला बिहीबार राति करिब ११ बजे पिसाब अड्किएको र पेट दुखेको कारण उपचारका लागि उक्त अस्पताल पुगेकी थिइन् । पीडितका अनुसार ल्याब असिस्टेन्ट मण्डलले उनलाई भिडियो एक्स-रेको बहानामा अलग कोठामा लगेका थिए र त्यहाँ यौन दुर्व्यवहार गर्न खोजेका थिए ।
महिलाले प्रहरीसमक्ष दिएको बयानअनुसार, मण्डलले पिसाब निकाल्ने पाइप लगाउने क्रममा अनुचित ढंगले शरीरमा हात लगाएका थिए । त्यसपछि ओठमा दाँतले टोक्ने, शरीरमा सुम्सुम्याउने तथा आफ्नो पाइन्ट खोल्दै बलात्कार प्रयास गर्न थालेपछि उनी डराएर त्यहाँबाट भाग्न सफल भएकी थिइन् ।
राति अबेर भएकाले र घरमा सासू–ससुरा भए पनि विश्वास नगर्लान् भन्ने डरले तुरुन्त परिवारलाई नबताएको महिलाले बताएकी छन् । शुक्रबार बिहान श्रीमानलाई सबै कुरा बताएपछि उनी इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दर्ता गर्न पुगेकी थिइन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार पीडित महिलाको उजुरीपछि तत्काल श्याम कुमार मण्डललाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार जाहेरी दर्ता भई घटनाको विस्तृत अनुसन्धान थालिएको छ ।
यसैबीच, अस्पतालका सञ्चालक दुर्गानन्द साहले भने आफूलाई घटनाबारे जानकारी नभएको बताए। उनका अनुसार बिहान प्रहरी अस्पताल आएपछि मात्रै आफूले घटनाको जानकारी पाएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ । मानवअधिकारकर्मी र स्थानीय समाजमा यस घटनाले तीव्र प्रतिक्रिया व्यक्त भएको छ ।
घटनामा दोषीलाई कडा कारबाही गर्नुपर्ने माग उठिरहेको छ ।