सिन्धुपाल्चोकस्थित तातोपानी नाका अब हेलिकोप्टर आयातको प्रवेशद्वारसमेत बनेको छ । पहिलोपटक चीनबाट आयात गरिएको एक युनिट हेलिकोप्टर बिहीबार तातोपानी नाका हुँदै नेपालको सीमाक्षेत्रको बजारमा प्रवेश गरेको हो ।
तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार चीनको एक सहरबाट ४० फिटे टेलरमार्फत हेलिकोप्टर ल्याइएको हो । “हाल जाँचपास भएको छैन, आवश्यक भन्सार प्रक्रिया चलिरहेको छ,” उनले जानकारी दिए। हेलिकोप्टर ढुवानीको जिम्मेवारी आडो ट्रान्सपोर्ट कम्पनीले लिएको हो ।
नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले चीनबाट पाँचवटा हेलिकोप्टर ल्याउने सम्झौता गरेकोमा यो पहिलो युनिट हो । तातोपानी भन्सारको यात्रु शाखामा हेलिकोप्टर अनलोड गरिएको छ ।
तातोपानी भन्सारका सूचना अधिकारी सूर्य काफ्लेले हेलिकोप्टरको मूल्याङ्कन गरी करिब ४ करोड १२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलनपछि जाँचपास प्रक्रिया सम्पन्न हुने जानकारी दिए । अबको एक–दुई दिनभित्र प्राविधिक टोली आएर हेलिकोप्टरको अवस्था परीक्षण गर्नेछ, त्यसपछि सो हेलिकोप्टर सिधा काठमाडौं उडान भर्नेछ ।
हाल भन्सार शाखामा हालै निर्माण गरिएको खुला पार्किङ क्षेत्रमा हेलिकोप्टर राखिएको छ । माउन्टेन हेलिकोप्टरका प्राविधिक टोली तातोपानीमा पुगेर तयारीमा जुटेका छन् ।