सहकारी ठगी आरोपमा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको भन्दै ट्राफिक सई कमल खड्कालाई जिम्मेवारीबाट हटाइएको छ ।
नेपालगञ्जमा कार्यरत सई खड्कालाई नेपाल प्रहरीको मुख्यालय (हेडक्वाटर) तानिएको हो। प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले खड्काको नाममा हस्ताक्षरबारे छानबिन गर्न हेडक्वाटर बोलाइएको पुष्टि गरेका छन् ।
रास्वपाले लामिछानेको पक्षमा नागरिकस्तरबाट हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानमा ट्राफिक सई खड्काले समेत हस्ताक्षर गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीमाथि छानबिन सुरु गरिएको हो ।
प्रहरी संगठनमा निष्पक्षताको विषय संवेदनशील हुने भएकाले राजनीतिक विवादसँग जोडिएका गतिविधिमा संलग्नता देखिएपछि उनको जिम्मेवारी खोसिएको बताइएको छ ।