नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ ।
मलेसियामा शनिबार सम्पन्न फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि उचालेको हो । सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि जोय थापाले सर्वाधिक अविजित २४ रनको योगदान दिंदै जित सुनिश्चित गरेका थिए । एक समय ९२ रनमै ८ विकेट गुमाएको नेपालको अवस्था संकटपूर्ण बनेको थियो, तर थापाको संयमित पारीले टोलीलाई ऐतिहासिक जितसम्म पु¥यायो ।
पहिले ब्याटिङ गर्दै सिंगापुर ११३ रनमै समेटियो
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४० ओभर ५ बलमा मात्र ११३ रनमै अलआउट भयो ।
उसका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए । नेपाली बलरहरूले सशक्त प्रदर्शन गरेका थिए । नेपालका अभय यादव र सुशील बहादुर रावलले समान ३–३ विकेट लिए। कप्तान विपिन शर्माले १ विकेट तथा शुभम खनालले २ विकेट लिँदै विपक्षी टोलीलाई सस्तामा समेट्न सहयोग गरे ।
यस जितसँगै नेपालले पूर्वी एसियाली क्रिकेट क्षेत्रको यू–१६ स्तरको प्रतियोगितामा आफ्नो दबदबा कायम राखेको छ ।