जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ ।
बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई प्रमुख सचेतक रेखा यादवले समर्थन फिर्ताको पत्र बुझाएसँगै पार्टीको निर्णय कार्यान्वयनमा आएको हो ।
जसपा नेपालले नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित वर्तमान गठबन्धन सरकारलाई बाहिरबाट समर्थन दिँदै आएको थियो। तर, पार्टी सरकारमा सहभागी भने भएको थिएन ।
पछिल्ला दिनहरूमा विशेष गरी भूमि विधेयकका विषयमा सरकारसँग जसपा नेपालको असहमति चुलिँदै गएको थियो पार्टीले भूमि विधेयकमा समावेश गरिएका केही प्रावधानहरूले भूमिहीन तथा सुकुम्बासीहरूलाई थप मर्का पर्ने र मधेश प्रदेशका जनताको हकहित विपरीत रहेको भन्दै तीव्र आपत्ति जनाउँदै आएको थियो ।
आफ्ना मागहरू विधेयकमा सम्बोधन नगरिएको भन्दै जसपा नेपालले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यस कदमले संसदमा सरकारको तत्काल बहुमतमा खासै असर नपरे पनि, नीतिगत निर्णयहरू लिँदा भने सरकारलाई थप चुनौती बढ्न सक्ने राजनीतिक विश्लेषकहरूको आँकलन छ ।