पर्सा जिल्लामा असार मसान्तसम्म ७५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले जानकारी दिएका छन् ।
जिल्लाको उत्तरी तथा पश्चिमी भेगमा कुलो, गण्डक नहरको पानी र थोरै मनसुनी वर्षाको सहयोगमा रोपाइँ भएको भए पनि दक्षिणी भेगमा भने स्थिति कमजोर रहेको उनले बताए । ठाकुरका अनुसार गण्डक नहरको पानी तथा निजी बोरिङमार्फत सिँचाइ गर्न सक्ने किसानले समयमा रोपाइँ गर्न सकेका छन् । तर, दक्षिणी पर्साका अधिकांश क्षेत्रमा गण्डक नहरको पहुँच नभएको र पछिल्ला दिनमा वर्षा नपरेकाले धानका बेर्ना सुक्दै गएका छन् ।
‘दुई साता अघिसम्म वर्षा भएकाले केही किसानले रोपाइँ गर्न सकेका थिए, तर त्यसयता पानी नपरेकाले बाली सुक्न थालेको छ,’ ठाकुरले भने, ‘एक सातादेखि दिन बिराएर थोरै पानी परेकाले केही राहत पुगेको छ ।’
गण्डक नहरदेखि दक्षिणतिरका पालिकाहरूमा रोपाइँको अवस्था अझै कमजोर रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारबाट किसानलाई राहत दिने विषयमा आफू अनभिज्ञ रहेको उनले बताए । जिल्ला सदरमुकाम वीरगञ्जका ग्रामीण क्षेत्रहरूमा पनि पर्याप्त पानीको अभावले गर्दा रोपाइँ कार्य प्रभावित भएको छ । पर्सा जिल्लामा धान प्रमुख बाली हो, तर खेतमा सिँचाइका लागि आवश्यक पानी नहुँदा अधिकांश किसानका बेर्ना तयार भए पनि रोपाइँ गर्न सकेका छैनन् ।
पर्साका लगभग सबै स्थानीय तहहरूमा धान खेती गरिँदै आए पनि मौसम अनुकूल नहुँदा यो वर्ष उत्पादनमा गिरावट आउने चिन्ता किसानहरूले व्यक्त गरेका छन् ।
भिडियाे सामाग्री