जनकपुरधाम । नेपाल–भारत सीमावर्ती मैनाथपुर क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले चार राउण्ड गोली चलाएको छ । भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लाको ग्रामपञ्चायत–६ मैनाथपुर क्षेत्रमा मंगलबार दिउँसो गोली प्रहार भएको हो ।
भारतीय किसानहरू खाद्य सामग्री ल्याउने क्रममा भारतीय एसएसबीसँग भएको विवादपछि स्थिति नियन्त्रणमा लिन एसएसबीले गोली चलाएको बताइएको छ ।
भारतीय व्यापारी लामोहन पासमानसँग भएको विवादका क्रममा एसएसबीको गोली लागेर भारतीय नागरिक भर्ता पासमान घाइते भएका छन् । उनको दाहिने कम्मरमा दुई गोली लागेको हो । घटनाबारे जानकारी दिँदै सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख, सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले सो पुष्टि गरेका छन् ।
घटनापछि विदेह नगरपालिका–१ स्थित नेपालतर्फको महिनाथपुर सिमा नाका र भारततर्फको बोर्डर दुबै बन्द गरिएको छ । साथै, दुवै देशका सर्वसाधारणको सवारीसाधन र पैदल आवत–जावतसमेत तत्कालका लागि रोक लगाइएको सशस्त्र प्रहरी बल महिनाथपुरले जनाएको छ ।
सिमा क्षेत्रमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको जनाइएको छ । घटनाको प्रकृति र संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सुरक्षाकर्मीहरू समेत सिमा क्षेत्रमा तैनाथ गरिएको छ ।