वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंज–४, बिर्तास्थित त्रीजुद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘हरियो, सफा र स्वस्थ वीरगंज’ भन्ने उद्देश्यका साथ क्लबले यो अभियानलाई निरन्तरता दिएको हो ।
कार्यक्रम क्लबका अध्यक्ष संजय जोशीको अध्यक्षता र वीरगंज–४ का वडाअध्यक्ष जगत साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा त्रीजुद्ध स्कुलका प्रधानाध्यापक नवीन मिश्र, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, क्लबका पूर्व अध्यक्षहरू शालिकराम प्रसाद कानु, शशिरञ्जन कलवार, हरि गोपाल श्रेष्ठ, निवर्तमान अध्यक्ष अनिल जैसवाल, सदस्यहरू हरिओम साह, रबिन श्रेष्ठ लगायतको उपस्थिति थियो ।
कार्यक्रम अन्तर्गत आँप, लिची, निम, धूप, जकरकण्ड, गुलमोहर, अर्जुन जातका २५ वटा बिरुवा रोपिएको क्लबले जनाएको छ ।
क्लब अध्यक्ष जोशीले वातावरणीय असन्तुलनका कारण पानीको चरम संकट उत्पन्न भएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधान वृक्षारोपणमै रहेको बताए । “हरेक घर, हरेक व्यक्तिले एक–एक रुख रोपे मात्र हामीले प्रकृति जोगाउन सक्छौं,” उनले भने, “हामी प्रत्येक वर्ष वृक्षारोपणसँगै रक्तदान, स्वास्थ्य शिविरजस्ता विविध कार्यक्रम गर्दै आएका छौं ।”
प्रमुख अतिथि वडाध्यक्ष कानुले वातावरणीय असन्तुलन नै पानी संकटको मूल कारण भएको जनाउँदै वृक्षारोपणमार्फत समाधान खोज्नुपर्ने बताए । उनले स्वस्थ वातावरणलाई स्वस्थ जीवनको आधार मानेर समुदायस्तरमै वृक्षारोपण अभियानलाई विस्तार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागीले वृक्षारोपण मात्र नभई रोपिएका बिरुवाको संरक्षण र संवर्द्धनमा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न, पानीको संकट समाधान गर्न र प्राकृतिक आपदा न्यूनीकरणमा समेत सहयोग पुर्याउने धारणा सहभागीहरूले व्यक्त गरे ।