पर्साको पोखरिया नगरपालिकामा घुस दिएर नियुक्ति गरिएका कर्मचारीहरूले आफूले दिएको रकम फिर्ता र काम गरेको तलब उपलब्ध गराउन अपिल गरेका छन् ।
नगरपालिकाका विभिन्न पदमा कार्यरत रहेर सेवा दिएका व्यक्तिहरूले पोखरियाका केही कर्मचारी तथा विचौलियामार्फत घुस रकम बुझाएर नियुक्ति प्राप्त गरेका थिए । तर, अहिले न त उनीहरूको सेवाकाे निरन्तरता छ, न त कामको पारिश्रमिक नै उपलब्ध भएको छ ।
घुस दिएर सेवा गरेका व्यक्तिहरूको संयोजकत्वमा आयोजना गरिएको भेलाका अगुवा समेत रहेका समाजसेवी नेता निजामुद्दिन समानीका अनुसार, पीडितहरूले आफैं कार्यरत रहेकै नगरपालिकाबाट कुनै पारिश्रमिक नपाएको तथा दिइएको रकम समेत नफर्किएको सार्वजनिक रूपमा गुनासो गरेका छन् ।
"नियुक्ति दिलाइदिने नाममा कर्मचारी तथा केही प्रभावशाली व्यक्तिहरूले लाखौं रुपैयाँ असुली गरे । तर, अहिले उनीहरूले न पैसा फर्काएका छन्, न त काम गरेको तलब नै दिएका छन्," समानीले बताए ।
समस्याको समाधानको माग गर्दै पीडितहरूले साउन १५ गते पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न चौहानलाई औपचारिक रूपमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरिएको नेता समानीले जानकारी दिए ।
भिडियाे सामाग्री