मधेस प्रदेशमा खडेरीको सङ्कट गहिरिँदै गइरहेको बेला कृषिमा जीवनरेखा मानिएको ओरिया सिँचाइ योजना यस वर्ष पनि अधुरै रहने संकेत देखिएको छ ।
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२ स्थित दसौटा टोलमा निर्माणाधीन यो योजना प्रदेश सरकार अन्तर्गतको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको असहयोगका कारण समयमै सम्पन्न नहुने देखिएको हो । आर्थिक वर्ष २०७७/७८ मा सुरू गरिएको यो योजना ओरिया खोलाको पानी व्यवस्थापन गरी गण्डक नहरमा मिसाएर २८ सय बिघा जग्गामा वर्षभरि सिँचाइ गर्ने लक्ष्यका साथ अघि बढाइएको थियो । तर चालू आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालयले यस योजनाका लागि मात्र रु २० लाख बजेट छुट्याएको छ, जुन बजेट योजनाको आवश्यकता अनुसार अत्यन्तै अपुग रहेको डिभिजन जलस्रोत तथा सिँचाइ विकास कार्यालय, पर्साले जनाएको छ ।
कार्यालय प्रमुख इन्जिनियर श्यामसुन्दर ठाकुरका अनुसार, "ठेकेदार कम्पनीले समयमा काम सम्पन्न गरेमा झन्डै ७ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने अवस्था छ । तर बजेट अत्यन्त न्यून भएकाले ठेकेदारको उत्साह घटेको र योजना फेरि प्रभावित हुने खतरा देखिएको छ," उनले बताए । उनका अनुसार अघिल्लो वर्षको ७० लाख रुपैयाँ भुक्तानी अझै बाँकी रहेको छ भने हालको कार्य सम्पन्न गर्न ७ करोड रुपैयाँ आवश्यक छ । तर मन्त्रालयले केवल २० लाख बजेट मात्र विनियोजन गरेकाले काम नै अवरुद्ध हुने जोखिम बढेको हो ।
सिँचाइका लागि अत्यन्तै महत्त्वपूर्ण मानिएको यो योजनाको कुल लागत रु २९ करोड रहेको छ। सो योजना टुन्डी बीएमएमएस जेभी कन्ट्रक्सन जनकपुरले रु १७ करोड २५ लाखमा ठेक्का लिई कार्य आरम्भ गरेको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि ठेकेदारको ढिलासुस्ती र बजेटको अभावका कारण योजना पाँच वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन । हालसम्म काम सम्पन्न नहुँदा योजना सम्पन्न गर्नका लागि अन्तिमपटक २०८२ सालको कार्तिक २८ गतेसम्म म्याद थप गरिएको छ । तर बजेट अभावकै कारण उक्त म्यादसम्म पनि काम सम्पन्न हुने सम्भावना न्यून देखिएको छ ।
स्थानीय किसानहरू भने योजनाको ढिलाइले सिँचाइ अभावमा खेती चौपट हुने जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
भिडियाे सामाग्री