जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (साउन १६ गते) देशभर साधारणतया बदली हुने जानकारी दिएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका धेरै स्थानहरूमा तथा तराईका केही ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
त्यस्तै, राति कोशी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत पहाडी भेगका धेरै स्थान र तराईका केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। वाग्मती प्रदेशका पहाडी क्षेत्रहरूमा भने केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ। साथै सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
अधिक वर्षाले दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई सतर्कता र पूर्वतयारीका साथ रहन आग्रह गरिएको छ ।
भिडियाे सामाग्री