बाराको विभिन्न स्थानबाट सशस्त्र प्रहरीले करिब ८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराले शुक्रबार बिहान पचरौता नगरपालिका–७ बेनौलिबाट मोटरसाइकलसहित कम्प्युटर पार्ट्स बरामद गरेको हो । बरामद गरिएको सो सामानको अनुमानित मूल्य ६ लाख ३७ हजार रुपैयाँ रहेको प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिए ।
त्यसैगरी, बिश्रामपुर गाउँपालिका अन्तर्गत घोडासन, बलिरामपुर र मुसर्वा सीमा क्षेत्रबाट जुत्ता–चप्पल, तन्ना, लेडिज कुर्ता र ट्र्याक्टर पार्ट्स बरामद गरिएको छ । ती सामानको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ रहेको एसपी के.सी.ले बताए । साथै, सिम्रौनगढ नगरपालिका–६ अमरपुरबाट करिब ३५ हजार रुपैयाँ मूल्य बराबरको मोबाइल टेम्पर ग्लाससमेत बरामद गरिएको छ ।
प्रहरी उपरीक्षक के.सी.का अनुसार बरामद गरिएका सबै सामानहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
भिडियाे सामाग्री