महाराष्ट्रको नागपुरबाट एक अचम्मको ठगी काण्ड सार्वजनिक भएको छ ।
एक महिलाले विवाहको नाममा आठ जना पुरुषलाई ठगी गरेकी घटना सार्वजनिक भएपछि स्थानीय प्रहरी चनाखो बनेको छ । नागपुरको गिट्टीखदान क्षेत्रबाट समीरा फातिमा नामकी महिलालाई प्रहरीले पक्राउ गरेको हो । उनी आफ्नो नवौं शिकार बनाउन खोज्दै गर्दा चिया पसलबाट पक्राउ परेकी हुन् ।
प्रहरीका अनुसार समीरा फातिमा शिक्षित महिला हुन् र पेशाले शिक्षिका हुन् । उनले विगत १५ वर्षदेखि धनी मुस्लिम पुरुषहरूलाई निशाना बनाउँदै आएकी थिइन् । आफूलाई तलाकशुदा भन्दै सहानुभूति लिने, दोस्रो श्रीमती बन्न तयार रहेको नाटक गर्ने, विवाह गरेपछि घरमा झगडा सुरु गर्ने र पछि झुटा मुद्दा तथा बदनामीको डर देखाएर लाखौँ रुपैयाँ असुल गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
समीरा फातिमाविरुद्ध उजुरी दिने व्यक्तिहरूको सूची लामो बन्दै गएको छ । प्रहरीका अनुसार उनले कोहीसँग १५ लाख, त कोहीसँग ५० लाख रुपैयाँ ठगी गरेकी छिन् । यस क्रममा उनले भारतीय रिजर्व बैंकका केही अधिकारीहरूलाई समेत शिकार बनाएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
यस घटनाको सुरुआत मार्च २०२३ मा गुलाम पठान नामका एक व्यक्तिले समीरा फातिमाविरुद्ध उजुरी दिएपछि भएको हो । उनले समीरा सन् २०१० देखि हालसम्म आठ वटा विवाह गरिसकेको र करोडौं रुपैयाँ ठगी गरिसकेको आरोप लगाएका छन्। अहिलेसम्म १० लाख रुपैयाँ ठगीको प्रमाण प्रहरीले फेला पारिसकेको छ । हाल समीरा फातिमा प्रहरी हिरासतमा छिन् र उनका विरुद्ध थप अनुसन्धान भइरहेका छन् । प्रहरीले उनका अघिल्ला केसहरू पनि पुनः खोल्ने तयारी गरिरहेको छ । साथै, प्रहरीले अन्य पीडितहरूलाई पनि उजुरी गर्न आह्वान गरेको छ ।
यो घटना नागपुरमा मात्र नभइ सम्पूर्ण भारतभर चासोको विषय बनेको छ । सामाजिक सञ्जालदेखि लिएर सञ्चारमाध्यमहरूसम्म समीरा फातिमाको चर्चा व्यापक भएको छ ।