जनकपुर | मधेस प्रदेश सरकारको नेतृत्वमा फेरबदलको चर्चा सेलाएसँगै मन्त्रिमण्डल पुनर्गठनको सम्भावना पनि तत्कालका लागि टरेको छ । एक वर्षभित्र मन्त्री हेरफेर गर्ने भनिए पनि संघीय सत्ता गठबन्धन मौन बसेपछि तत्काल मन्त्री परिवर्तन नहुने देखिएको हो ।
मुख्यमन्त्री सरोजकुमार सिंहले अहिलेको अवस्थामा मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार संघीय गठबन्धनबाट मन्त्री हेरफेरको कुनै संकेत प्राप्त नभएकोले तत्काल फेरबदलको आवश्यकता देखिएको छैन ।
"केन्द्रबाट संकेत आए लगत्तै हामी फेरबदल गर्छौं, नहुने होइन। तर संघीय गठबन्धनबाट अहिलेसम्म कुनै ठोस सन्देश आएको छैन," मुख्यमन्त्री सिंहले बताए ।
गत वर्ष जेठमा बनेको मधेस सरकारमा नेपाली कांग्रेस, एमाले, जनमत पार्टी र लोसपा प्रमुख सत्ता साझेदारका रूपमा सहभागी छन् । जनमत पार्टीले आफ्नो एक वर्षको कार्यकाल पूरा गर्दै जेठमा आफ्ना दुई मन्त्रीहरू फिर्ता बोलाएर नयाँ अनुहार पठाइसकेको छ। यससँगै मन्त्रीपरिषद् हेरफेरको चर्चा सुरु भएको थियो ।
यद्यपि कांग्रेसभित्र मुख्यमन्त्रीको नेतृत्व फेरबदल गर्न गरिएको प्रयास असफल भएपछि मन्त्री हेरफेरको प्रक्रिया पनि रोकिएको हो। सत्ता साझेदार दलहरूबीच आन्तरिक शक्ति सन्तुलन कायम गर्न समय लागिरहेको कारण पनि प्रक्रिया ढिलो भएको स्रोतहरू बताउँछन् ।