धनुषाको नगराईन नगरपालिकामा मेयर विनयकुमार यादव र उपमेयर राधादेवी यादवबीचको विवाद फेरि चुलिएको छ । विवाद साम्य भएको वर्षदिन नवित्दै पछिल्लो केही महिनादेखि दुई जनाबीचको टकरावका कारण पालिकाको नियमित कामकाज प्रभावित भएको छ ।
उपमेयर राधादेवी यादवले कांग्रेसबाट निर्वाचित मेयर यादवले कार्यपालिका सदस्यहरूलाई बेवास्ता गर्दै तानाशाही शैलीमा पालिका सञ्चालन गरिरहेको आरोप लगाएकी छिन् । मंगलबार नगराईनमा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा सहमति गरिएको कार्यविधि संशोधन तथा स्थानीय तह सञ्चालन ऐन, २०७४ लागू नगरेसम्म कुनै पनि सभा, बैठक र बजेट प्रक्रिया अघि नबढ्ने स्पष्ट पारिन् ।
उनले भनिन्, "पुरानै कार्यविधिलाई निरन्तरता दिँदै पालिका मनोमानी ढंगले चलाइएको छ । हामीले सहमति कार्यान्वयन नभएसम्म काम अगाडि बढ्न दिने छैनौँ ।"
उक्त पत्रकार सम्मेलनमा उपमेयर राधादेवीसँगै वडा नं. ५ का वडाध्यक्ष रामनारायण मुखिया, वडा नं. ६ का ललित साह, वडा नं. ८ का संजय राउत, वडा नं. ९ का प्रमोदकुमार राउतसहित एमालेबाट निर्वाचित ८ जना कार्यपालिका सदस्यहरूको उपस्थिति थियो ।
यता मेयर विनयकुमार यादवले उपमेयरले अवरोध सिर्जना गर्दै नगरसभा बन्धक बनाएको आरोप लगाए। उनले भने, "पछिल्लो पटक पनि करिब नौ महिनासम्म नगरपालिकाको काम ठप्प पारिएको थियो । अहिले पनि त्यही शैली दोहोरिएको छ ।"
नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू कार्यपालिका बैठकमा सहभागी नभएपछि आजको बैठक समेत स्थगित गरिएको छ । विवादका कारण नगराईन नगरपालिकाको नीति तथा कार्यक्रम, बजेट, विकास योजना लगायतका प्रक्रिया अघि बढ्न सकेको छैन ।
प्रमुख प्रशासकीय अधिकृतमाथि पनि विवाद
वडा नं. ८ का वडाध्यक्ष संजय राउतले प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णमाथि कांग्रेसको सदस्य भई नियमविपरीत नियुक्ति पाएको आरोप लगाए । कर्ण कांग्रेसको प्रभावमा स्वास्थ्य शाखाका कर्मचारी ल्याउने, पालिकाको निर्णय प्रभावित पार्ने जस्ता काममा संलग्न रहेको आरोप लगाइयो ।
तर प्रमुख प्रशासकीय अधिकृत कर्णले आफू कुनै पनि राजनीतिक दलको सदस्य नभएको प्रष्ट पारे । कांग्रेस निकट नेपाल स्वास्थ्यकर्मी संघको धनुषा जिल्ला अध्यक्ष भएको नाताले क्षेत्रीय बैठकमा सहभागी भएको बताउँदै आफूलाई निष्पक्ष कर्मचारीको रूपमा प्रस्तुत गरे ।