वीरगंज महानगरपालिका–१२ स्थित सगरमाथा एकेडेमीकी मेधावी छात्रा अर्पिता गुप्ताले काठमाडौं महानगरपालिका शिक्षा विभागद्वारा आयोजित छात्रवृत्ति छनोट परीक्षा २०८२ मा छनाेट भएकी छिन् ।
उक्त परीक्षामा सफल हुँदै अर्पिता अब काठमाडौंको कालीमाटीस्थित केएमसी–१३ (Kathmandu School of Central State) मा कानुन (Law) विषयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्नेछिन् । अर्पिताले यसअघि एसईई परीक्षा (रोल नम्बर: 03709435 O) मा समेत उत्कृष्ट प्रदर्शन गर्दै छात्रवृत्तिका लागि योग्य ठहरिएकी थिइन् । उनको यो उपलब्धि विद्यालय, अभिभावक र सम्पूर्ण वीरगन्ज समुदायका लागि गौरवको विषय भएको सगरमाथा एकेडेमीले जनाएको छ ।
विद्यालयले अर्पिताको सफलता विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको प्रतिभाको प्रमाण भएको भन्दै यस्ता मेधावी विद्यार्थीहरूलाई प्रोत्साहन र उत्प्रेरणा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू, सहपाठी र अभिभावकहरूले अर्पितालाई उज्ज्वल शैक्षिक भविष्यको शुभकामना दिएका छन् । सगरमाथा एकेडेमीबाट यसअघि पनि मेधावी विद्यार्थीहरूले छात्रवृत्ति हासिल गर्दै आएका छन् । २०८१ मा करिश्मा गुप्ताले नेशनल प्याब्सन छात्रवृत्ति अन्तर्गत कक्षा ११/१२ का लागि पूर्ण छात्रवृत्ति र ल्यापटप प्राप्त गरेकी थिइन् ।
यसरी निरन्तर उपलब्धि हासिल गर्दै जानु विद्यालयको शिक्षण पद्धति, विद्यार्थीको लगनशीलता र अभिभावकको सहयोगको प्रतिफल भएको विद्यालय प्रशासनले जनाएको छ ।