विशेष अदालतको संयुक्त इजलासले कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत स्व. प्रहलाद प्रसाद वर्णवालसहित ६ जनालाई सेनिटरी प्याड खरिद प्रकरणमा दायर भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।
न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको इजलासले मंगलबार सुनाएको फैसलामा प्रतिवादीहरूविरुद्ध प्रस्तुत प्रमाण पर्याप्त नभएको ठहर गर्दै सफाइ दिने आदेश दिएको हो । सफाइ पाउनेमध्ये स्व. प्रहलाद प्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ, सागर देवी फर्मा र उक्त फर्माका प्रोप्राइटर विमलेश शाह रहेका छन् ।
अर्थिक वर्ष २०७७/७८ तथा २०७८/७९ मा सेनिटरी प्याड खरिदमा सार्वजनिक खरिद नियमावली उल्लङ्घन, अस्वाभाविक मूल्य निर्धारण, र एकै परिवारका फरक फर्ममार्फत बोलपत्र पेश गराई मिलेमतोमा ठेक्का प्रदान गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ चैत २६ गते आरोपपत्र दायर गरेको थियो ।
अख्तियारको दाबीअनुसार, पहिलो वर्षमा प्रति प्याकेट रु. ७८ मा खरिद गरिएका प्याड दोस्रो वर्षमा रु. २४ मा खरिद भएको देखिएको थियो । यसरी ९६ हजार २८० प्याकेटमा करिब रु. ५१ लाख ९९ हजार १२० बढी भुक्तानी गरिएको आरोप लगाइएको थियो ।
तर अदालतले प्रस्तुत प्रमाणबाट आरोप पुष्टि नहुने निष्कर्ष निकालेको हो ।
२०८२ असार ४ गते कलैया उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका तत्कालीन महाशाखा प्रमुख प्रहलाद प्रसाद वर्णवालको असामयिक निधन भएको थियो ।
सम्बन्धित समाचार
मधेशमा अप्तयार लाग्दो भ्रष्टाचार, किशोरीहरुको सेनेटरी प्याड खरिदमा पनी ५२ लाख भ्रष्टाचार अख्तियारद्वारा आरोपपत्र दायर
भंगहा नगरपालिकामा सेनिटरी प्याड खरिदमा १९ लाख रुपैयाँभन्दा बढीको अनियमितता
भिडियाे सामाग्री