वीरगंज | वीरगंज महानगरपालिकाले मातहतका सामुदायिक विद्यालयका शिक्षकहरूले आफू कार्यरत विद्यालय बाहेक अन्यत्र काम गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
महानगरका सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयमा नियमित उपस्थित नहुने र बाहिरी विद्यालयमा काम गरेको पाइएको भन्दै यसले पठन–पाठनमा प्रत्यक्ष असर परेको महानगरले जनाएको छ ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जारी गरेको सूचनामा, शिक्षकहरूले विद्यालय व्यवस्थापन समिति र स्थानीय तहको स्वीकृति नलिई बाह्य विद्यालयमा कार्यरत हुने र आफ्नो विद्यालयमा अनियमित हुने कार्य बढिरहेको जनाइएको छ ।
सूचनामा भनिएको छ– “आइन्दा यस्तो कार्य नगर्नु/नगराउनु हुन साथै शिक्षा नियमावली, २०५९ को नियम १३३ (ज) तथा वीरगन्ज महानगरपालिकाको शिक्षा नियमावली, २०७४ को नियम १०४ (ज) बमोजिम शिक्षकले पालना गर्नुपर्ने आचारसंहिता अनिवार्य रूपमा पालना गर्नु गराउनु हुन अनुरोध छ ।”
शिक्षा नियमावली, २०५९ को नियम १३३ (ज) मा सामुदायिक विद्यालयका शिक्षकले विद्यालय व्यवस्थापन समिति र जिल्ला शिक्षा अधिकारीको स्वीकृति नलिई आफू कार्यरत विद्यालय बाहिर काम गर्न नहुने व्यवस्था छ ।
शिक्षा महाशाखा प्रमुख लामिछानेले सामुदायिक विद्यालयका शिक्षकहरूले उल्लंघन गरेको खण्डमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएका छन् ।
भिडियाे सामाग्री