वीरगंज | वीरगंज महानगरपालिकाले बढ्दो हैजाको सङ्क्रमणलाई ध्यानमा राख्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाअन्तर्गत शैक्षिक प्रशासन महाशाखाले शुक्रबार एक सूचना जारी गर्दै भदौ ८ र ९ गते (आइतबार र सोमबार) महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गरिने जानकारी दिएको हो ।
सूचनामा नागरिकलाई हैजाको संक्रमणबाट जोगिन आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । पानी उमालेर मात्र पिउन, शौचालय प्रयोगपछि साबुन–पानीले हात धुन, सरसफाइका नियमहरू पालना गर्न, काँचो सागसब्जी तातोपानीले पखालेर मात्र खान र अन्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
महानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय हैजाको जोखिम बढ्दै गएको र संक्रमण फैलिन नदिनका लागि गरिएको स्पष्ट पारेको छ । हालै वीरगञ्जका विभिन्न वडामा हैजाका बिरामी भेटिएपछि सतर्कता स्वरूप यस्तो कदम चालिएको हो ।
भिडियाे सामाग्री