महोत्तरी | आन्दोलनको नाममा धर्ना–हडताल गर्ने र विद्यालयको पठनपाठनमा बाधा पुर्याउने शिक्षकहरूमाथि मनरासिसवा नगरपालिकाले कडा चेतावनी दिएको छ ।
नगर प्रमुख मोहन पाण्डेयले विद्यालयमा हाजिरी लगाएर आन्दोलनमा सहभागी हुने शिक्षकहरूको तलब कट्टा गरिने स्पष्ट पारेका छन् । नेपाल शिक्षक महासङ्घमा आबद्ध सामुदायिक विद्यालयका शिक्षकहरूले शुक्रबार विद्यालयमा हाजिरी लगत्तै नगर कार्यालयको परिसरमा धर्ना बसेपछि नगर प्रमुखले यस्तो चेतावनी दिनुभएको हो ।
उहाँले भन्नुभयो, “हाजिरी गरेपछि विद्यालयमा पढाउनै पर्छ। आन्दोलनमा जाने हो भने बिदा लिनु पर्छ । अन्यथा गयल गरी तलब कट्टा गरिने छ ।” तर आन्दोलनरत शिक्षकहरूसँग वार्ता र समाधानको बाटो भने खुला रहेको पाण्डेले उल्लेख गर्नुभयो ।
आन्दोलनरत शिक्षकले भने संयमित प्रतिक्रिया दिएका छन् । दुर्गा माध्यमिक विद्यालय मनराका प्रधानाध्यापक तथा शिक्षक मञ्चका राष्ट्रिय अध्यक्ष कुमुद सिंहले, “नगर प्रमुखको भनाइप्रति हाम्रो कुनै आपत्ति छैन। आन्दोलन र बिदाबारे नगरपालिकासँग सहमतिमा अघि बढ्न सकिन्छ। यसअघिको १४ दिने आन्दोलनमा पनि नगर प्रमुखको सहमतिमै वर्षे बिदाबाट पठनपाठन मिलाइएको थियो । अहिले पनि हामीसँग ५० दिन बिदा बाँकी छ,” बताउनुभयो ।
शिक्षकहरूले सुरु गरेको धर्ना–आन्दोलनले नगर क्षेत्रका २७ सामुदायिक विद्यालयका १३ हजार ७ सय विद्यार्थीको पठनपाठनमा बाधा पुर्याउने सम्भावना भएकाले नगरपालिका गम्भीर भएको जनाइएको छ। मनरासिसवा नगरपालिकामा २५० सामुदायिक शिक्षक कार्यरत छन् ।
भिडियाे सामाग्री