हमासका प्रवक्ता अबु उबैदा गाजा शहरमा गरिएको इजरायली हवाई आक्रमणमा मारिएको इजरायलले दाबी गरेको छ ।
इजरायलका रक्षामन्त्री इजरायल कात्जले एक्समार्फत प्रतिक्रिया दिँदै इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) र सुरक्षा एजेन्सी शिन बेटले आक्रमण सफलतापूर्वक सम्पन्न गरेको भन्दै बधाई दिएका छन् ।
तर, हमासले भने अहिलेसम्म उबैदाको मृत्युको पुष्टि गरेको छैन । सो समूहले पहिले सरकारी संरचना नजिकै भएको आक्रमणमा दर्जनौं नागरिकको मृत्यु भएको र कैयौं घाइते भएको दाबी गरेको थियो ।
स्थानीय सञ्चारकर्मीका अनुसार गाजाको घना बसोबास रहेको अल–रिमाल क्षेत्रमा भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेमध्ये बालबालिका पनि रहेका छन् ।
रक्षामन्त्री कात्जले आइतबार उबैदा र उनका अन्य "अपराधिक साझेदारहरू"लाई निशाना बनाउने चेतावनी दिएका छन् । उनले गाजामा अभियानलाई अझ तीव्र बनाउँदै लैजाने बताएका छन् ।
अबु उबैदा हमासको सैन्य विङ्गका वरिष्ठ सदस्यहरूमध्ये एक मानिन्छन् । उनी सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको घातक आक्रमणभन्दा अघिदेखि नै हमाससँग सक्रिय रूपमा जोडिएका थिए ।