काठमाडौँ । लामो समयदेखि बक्यौता भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका दुग्ध उत्पादक किसानहरूले आन्दोलन स्थगित गरेका छन् ।
बुधबार सरकार र आन्दोलनरत दुग्ध संघसंस्थाबीच भएको वार्तापछि कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रमहरू रोकिएका हुन् ।
केही दिनयता डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसनलगायत संस्थाहरूले किसानको अर्बौँ बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गर्दै आन्दोलन चर्काइरहेका थिए ।
सहमति अनुसार २०८२ असार मसान्तसम्मको बाँकी बक्यौता रकम आगामी असोज ५ भित्र, साउन महिनासम्मको बक्यौता असोज ३० भित्र र भदौ महिनासम्मको भुक्तानी कात्तिक मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी, दुग्ध सहकारी संघसंस्थाबाट संकलन हुने दूधको परिमाणमा कुनै कटौती नगरी निरन्तर संकलन गर्ने र सरकारले तोकेको न्यूनतम खरिद मूल्य देशभरका सबै उद्योगले अनिवार्य रूपमा लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
भिडियाे सामाग्री