मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सोमबार पदबाट राजीनामा दिएका छन् ।
देशभर जेन–जी पुस्ताले चर्काएको आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु र व्यापक दमनका घटनापछि उनले आत्मसम्मानका साथ पद त्यागेको घोषणा गरेका हुन् । एक स्टाटस लेख्दै मुख्यमन्त्री सिंहले आन्दोलनका क्रममा निर्दोष युवाको ज्यान गएको घटनाले आफूलाई असह्य पीडा र गहिरो दुःख दिएको उल्लेख गरेका छन् । उनले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
“नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ । नागरिकको ज्यानभन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु,” वक्तव्यमा भनिएको छ ।
सिंहले संविधानले प्रत्येक नागरिकलाई दिएको शान्तिपूर्ण आन्दोलनको अधिकारलाई सम्मान गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै समस्या समाधानको बाटो संवाद, आपसी समझदारी र सहकार्य नै हुने विश्वास दोहोर्याएका छन् ।
राजीनामा सन्देशमा उनले मुख्यमन्त्री रहँदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित नेता–कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गरेका छन् ।