नेपाल प्रहरीले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा हिंसा र आगजनीका घटनापछि देशभरका कारागारबाट भागेका कैदीबन्दी र हिरासतमा रहेका अभियुक्तहरुलाई सम्बन्धित सुरक्षा निकायमा तत्काल सम्पर्कमा आउन आह्वान गरेको छ ।
बिहीबार प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “यही मिति २०८२ साल भाद्र २३ गतेपछि देशभर भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय र इकाई तथा कारागारमा भएको तोडफोड र आगजनीपछि अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्त तथा कारागारमा सजाय भुक्तान गर्न रहेका कैदीबन्दी भागी निस्केका छन् । त्यसैले उनीहरुलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाई वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयमा यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरिन्छ ।”
प्रहरीले फरार रहेका सबै अभियुक्त तथा कैदीबन्दीलाई कुनै पनि थप कारबाहीबाट बच्न र अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेको छ ।